दसैँबिदापछि खुल्न थाले सरकारी कार्यालय

काठमाडौँ, २८ असोज । दसैँको बिदाका कारण बन्द भएका सरकारी कार्यालय आजदेखि खुल्न थालेका छन् । दसैँ बिदापछि सरकारी तथा निजी कार्यालय खुले पनि शुक्रबार भएकाले कर्मचारीको उपस्थिति कमै मात्र देखिन्छ ।

मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र पनि कर्मचारीको उपस्थिति न्यून छ । दसैँ बिदापछि पहिलो दिन भएकाले पनि कर्मचारीको चहलपहल कम भएको गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले वताएका छन् । उनकाअनुसार भोलि शनिबार दसैँको पूर्णिमा र सार्वजनिक बिदा परेकाले टाढा रहेका कर्मचारी तथा सेवाग्राही पनि फर्कने क्रममा रहेकाले सामान्य बन्न अझै एक दुई दिन लाग्नेछ ।

दसैँमा छ दिन बन्द रहेका सरकारी कार्यालय खुलेपछि कामकाजी सर्वसाधारणले केही राहत महसुस गर्न पाएका छन् ।

दसैँमा सुनसान बनेको उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।  उपत्यकामा सबैखाले सवारीसाधन बाक्लो देखिन थालेका छन् । सर्वसाधारणको आवतजावत बाक्लो छ भने सडक, चोक गल्लीका पसल खुलेका छन् । अहिले उपत्यकाको सवारी आवागमन सामान्य रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।