धुर्मुस-सुन्तलीले यसरी उठाए भूकम्पमा ध्वस्त गिरानचौर (फोटोफिचरसहित)

(ज्ञानमणि नेपाल कालोटोपी)

गिरानचौर, सिन्धुपाल्चोक । दशैंको फूलपातीको दिन , सबैलाई दशैं लागेको थियो । तर गिरानचौरमा निर्माणाधिन वस्तीमा कलाकार सिताराम कट्टेलको समुह भने चार्डपर्वको वास्ता नगरि आफ्नै काममा व्यस्त देखिन्थ्यो । चर्को घाम छँदै थियो । तर वस्ती निर्माणको काम सकेर हस्तान्तरण गर्ने दिन नजिकिंदै गरेका कारण यहाँ १५० जना कामदारहरु सक्रियताका साथ काम गरिरहेका थिए । उनीहरुलाई स्थानियवासिहरुको पनि उत्तिकै सहयोग थियो ।

सिन्धुपाल्चोकको गिरानचौरमा निर्माणधिन धुर्मुुस सुन्तली एकिकृत नमुनावस्तीको निर्माण अन्तिम चरणमा पुगेको छ । गएको बैशाख २९ गते दोस्रो विनासकारी भूकम्पको पहिलोवर्ष पुगेको दिन देखि शुरु भएको यो वस्ती निर्माणको आगामी कार्तिक १२ गते हस्तान्तरण गरिने कार्यक्रम रहेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष हाँस्य कलाकार सिताराम कट्टेलले जानकारी दिएका छन् ।

३५ रोपनी क्षेत्रफलमा ६५ वटा भूकम्प प्रतिरोधि घरहरुको निमार्ण गर्न शुरु गर्दा दशैंको घटस्थापनाको दिन वस्ती हस्तान्तरण गर्ने लक्ष्य भएको भएपनि वर्षायाम भएका कारण निर्धारित समयमा काम सकिएन । यसले केहि खल्लो भएपनि लक्ष्य अनुसारको काम सकिन लागेकोमा इञ्जिनियर अर्जुन न्यौपाने खुशि व्यक्त गर्छन् । यस अघि काभ्रे जिल्लाको भूकम्प प्रभावित गाउँ पहरीवस्तीमा पनि यस समुहले २० वटा नमुना घरहरु बनाई गतवर्ष देखि नै पूनर्निमाणमा सक्रियता देखाएको थियो । त्यहाँ २० वटा घर बनाउन ६८ लाख रुपैयाँ खर्च भएको भएपनि गिरानचौरमा भने ५ करोड भन्दा वढी खर्च हुने अनुमान छ ।

गिरानचौरको एकिकृतवस्ती निर्माणमा देश विदेशबाट उल्लेख्य सहयोग आएको छ । धुर्मुस सुन्तली फाउण्डेशनमा १ लाख ७४ हजार बजेट हुँदा यति ठूलो आयोजना शुरु गरिएको थियो । लक्ष्य अनुशारको काम कसरी सम्पन्न गर्ने भनेर धुर्मुस र सुन्तलीको जोडि निकै चिन्तित थियो । त्यहि चिन्ताले नै उनीहरुलाई एउटा सफलता प्राप्त भयो । यो सफलतामा उनी स्थानियवासी, नेपाल सरकार, मेलम्ची नगरपालिका , नेपाल विद्युत प्राधिकरण लगायतलाई पनि जस दिन्छन् ।

मेलम्ची नगरपालिका –८, गिरानचौरको नमुनावस्तीमा ६५ वटा घर निर्माण हुनेछन् । ४२२ जना लाभान्वीत हुने यस वस्तीमा ३ वटा ब्लकमा घरहरु बनाइएको छ । जस मध्ये ब्लक नं. ए मा २३ वटा, ब्लक बि मा २७ वटा र ब्लक सि मा १५ वटा घरहरु बनाइएको इञ्जिनियर न्यौपानेले जानकारी दिए । सबै घरहरुमा ४ वटा कोठा र ट्वाइलेट सहितको व्यवस्था छ । त्यसका साथै बुईंगलको पनि व्यवस्था गरिएको छ । घरहरु अपांगमैत्री र बालमैत्री छन् । पिंढीको पनि निर्माण गरिएको छ । वस्तीमा एउटा सामुदायीक भवन, ३ वटा पार्किङ र ३ चिल्ड्रेनपार्क पनि रहनेछन् । सबैघरहरुको क्षेत्रफल ५७२ वर्गफिट छ । प्रारम्भिक चरणमा प्रतिघरको लागत ६ लाख ९४ हजार १९० रुपैयाँ रहेको भएपनि निर्माण सम्पन्न हुँदा सम्म प्रतिघर करिव १ लाखले लागत वढ्न पुगेको इञ्जिनियर न्यौपानेले जानकारी दिए । सबै तामाङ जातीकै मात्र बसोबास रहने यो बस्ती देशकै नमुनावस्तीको रुपमा विकसित हुने बताइएको छ ।

गिरानचौरका हिरालाल तामाङ ०७२ बैशाख १२ को भूकम्पमा आफ्नो घर गुमाउनु पर्दा निकै चिन्तित थिए । भएभरको अन्नपात सहित चौपाया समेत घर भत्किएर पुरिएपछि पुरै परिवारलाई कहाँ लगेर पाल्ने भन्ने चिन्ता पनि थपियो । यो गरौं कि त्यो गरौं भन्दा भन्दै १ वर्ष बित्यो । विभिन्न संस्थाले दिएका राहत पनि सकियो । सरकारको अनुदान आउला र घर बनाउन पाइएला भनेर कुरिरहेका उनलाई अकस्मात धुर्मुस सुन्तलीको आगमन भगवान आए झैं लाग्यो ।

सधैं टेलिभिजनका पर्दामा मात्र देखिने धुर्मुस आफ्नो गाउँ बनाइदिन आएपछि उनी अहिले निकै खुशि मात्र भएका छैनन् वस्ती निर्माणमा प्रत्यक्ष सहभागी पनि भएका छन् । ‘सरकारले पैसा बाँढेर मात्र घर बनाउन नसकिने रहेछ’ – हिरालाल भन्छन् । “धुर्मुस सुन्तलीलाई देश बनाउने जिम्मा दिने हो भने राजनितीक दलका नेताले गर्ने गफ भन्दा उनीहरुले कामै गरेर देखाईदिनेछन् ।” – उनले भने । सरकारले चार्डपर्वमा बाँढेको पैसा खाएरै सकिन्छ । यस्तो पाराले वर्षौं सम्म पनि घर नबन्ने उनको अनुभव छ । सँगैको भोटेचौर भूकम्पले ध्वस्त भएको अहिले पनि उस्तै छ तर धुर्मुस सुन्तलीका कारण गिरानचौर भने अब नमुनावस्तीको रुपमा ठडिदैंछ ।

गिरानचौरमा घर त बन्ने भयो । अब यो सँगै त्यहाँका स्थानियहरुको आर्थिक प्रगती हुने कार्यक्रम ल्याउन आवश्यक छ । संस्थाले सहयोग गरेर घर बनाईदिएका कारण सरकारले भूकम्पपीडितलाई दिने अनुदान यहाँका नागरिकले पाएका छैनन् । त्यो अनुदानले यहाँका वासिन्दालाई आर्थिक उर्पाजन हुने कार्यक्रम संचालन गर्नु पर्ने इञ्जिनियर न्यौपानेको सरकारलाई सुझाव छ । यो वस्तीको निर्माण सकेपछि देशका अन्य वस्तीहरुमा पनि आफूले सकेको सहयोग गरिने पनि उनले जानकारी दिए ।giranchok4 giranchok3 giranchok2 giranchok1 giranchok