बुद्धको अस्थि धातु सर्वसाधारणका लागि पुल्चोकमा

काठमाडौँ । शाक्यमुनि बुद्धको अस्थि धातु सर्वसाधारणको दर्शनका लागि आज अक्षेश्वर महाविहार पुल्चोकमा खुला गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन पुल्चोकस्थित महाविहारले सो धातु सर्वसाधारणको दर्शनका लागि सोही परिसरमा राख्ने गर्छ।

यस वर्ष शनिबार साँझदेखि पूर्णिमा परेको भए पनि अस्थि धातु आज बिहानदेखि प्रदर्शनमा राखिएको छ। बुद्धको अन्त्येष्टिका क्रममा रहेका अवशेष बौद्ध धर्मावलम्बीका लागि पवित्र मानिन्छ। सन् १९९६ मा श्रीलङ्काबाट सो धातु उक्त विहारमा ल्याइएको थियो। त्यसपछि निरन्तर वर्षमा एक पटक आश्विन शुक्ल पूर्णिमाका दिन प्रदर्शन गरिन्छ ।

अक्षेश्वर महाविहार संरक्षण समितिका सदस्य प्रचण्ड शाक्यले बिहान ७ बजेदेखि राखिएको सो धातु दर्शनका लागि काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट समेत सर्वसाधारण आउने क्रम बढेको जानकारी दिए। साँझ ४ बजेसम्म मात्र सो वस्तु खुला गरिने छ ।