लोकमानको बारेमा जानकारी दिन सरकारसंग माग

काठमाडौँ । सर्बोच्च अदालतले अख्तियार प्रमुख लोकमान सिंह कार्कीको घरमा पटक पटकको प्रयासमा पनि म्याद तामेलीको सूचना टास्न नसकिरहेको वेला यस बिषय संसद बैठकमा पनि उठेको छ ।

आजको संसद बैठकमा सांसदहरुले कार्कीको अवस्था र म्याद तामेलीको बिषयमा संसदलाई जानकारी दिन माग गरेका हुन् । बैठकमा बोल्दै  सांसद राधेश्याम अधिकारीले संवैधानिक निकायका प्रमुख व्यक्ति किन विदेश गएका हुन् र कहिले आउने हुन भन्नेबारे सरकारले संसदलाई जानकारी दिनु पर्ने माग गरे  ।

वरिष्ठ अधिवक्तासमेत रहेका अधिकारीले भने,‘अख्तियार प्रमुख कार्की यतिबेला नेपालमा हुनुहुन्न।उहाँको विदा स्वीकृत गर्ने निकाय पक्कै पनि मन्त्रिपरिषद नै हो। त्यसो हो भने संसदलाई अख्तियार प्रमुखको विषमा जानकारी दिइयोस्। उहाँ केका लागि विदेश जानु भएको हो?विदा कति अवधिका लागि स्वीकृत गराउनु भएको हो?’

उनले   राज्य असफल हुनेतिर गइरहेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे। उनले भने  ‘कानुन मिच्नेको संख्या बढ्दै गइरहेको छ। कानुनी राज्यको सामान्य सद्धान्त समेत नबुझेकाहरु संवैधानिक पदमा विराजमान छन्, अख्तियार प्रमुखमाथि सर्वोच्चबाट जारी भएको म्याद तामेल गर्न नसकिएकोमा कानुनी राज्यको नै उपहास छ ।’