लोकमानको म्याद तामेल गर्नमा असहयोग गर्नेलाई कारबाही

काठमाडौँ । सर्बोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख अायुक्त लोकमानसिंह कार्कीको म्याद तामेली प्रक्रियामा असहयोग गरेकालाई कारबाही गर्न सिफारिस गरेको छ । अदालतले म्याद तामेल गर्ने क्रममा असहयोग र वाधा पारेको भन्दै तामेलदार शम्भु खत्री,   काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सचिव सरिता राई र खरदार सुभाष आचार्यलाई सर्वोच्च अदालतले कारबाही सिफारिस गरेको हो ।

सर्वोच्चका रजिष्ट्रार श्रीकान्त पौडेलले तामेलदार खत्री, वडासचिव राई र खरदार आचार्यलाई अदालती बन्दोबस्तको १११ नम्बर बमोजिम कारबाही हुनुपर्ने भन्दै आइतबार इजलाससमक्ष प्रतिवेदन पेश गरेका थिए। न्यायाधीश ईश्वर खतिवडाको इजलासले  ३ जनासंग सात दिनभित्र आफैं उपस्थित भएर सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउन आदेश दिएको छ ।

मुलुकी ऐन अदालती बन्दोबस्तको १११  ‘बदनियत राखी म्याद तामेल नगर्ने तामेलदारलाई कानुनी कारबाही हुन सक्ने व्यवस्था गरिएको छ।  यसरी म्याद तामेल नगर्ने तामेलदारलाई १५ दिन कैद वा एक हजार जरिवाना हुन्छ। जरिवाना र कैद दुबै सजाय पनि हुन सक्छ ।