त्रिशुलीमा बस खस्यो, एकको मृत्यु, ९ जना गम्भीर

काठमाडौँ । मङ्गलबार साँझ त्रिशूली नदीमा रात्रि बस खस्दा एकको मृत्यु र एकजना बेपत्ता भएका छन् । घटनामा ९ जना गम्भीर घाइते भएका छन् ।

काठमाडौँबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नंको बस नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी–६ को रिद्धिखोलानजिकै खसेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले नौजना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको जानकारी दिए  । मृत्यु हुनेमा करिब ३२ वर्षीय पहिचान नखुलेका एकजनाको भरतपुरतिर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये आठजनाको कलेज अफ मेडिकल साइन्सेज भरतपुर र एकजनालाई राति नै थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

बसमा चालक तथा सहयोगी समेतगरी जम्मा ११ जना यात्रु सवार रहेकामा एकजना बेपत्ता भएका छन् ।