छठलगत्तै संविधान संशोधन, चैतमा स्थानीय निकायको चुनाव: प्रधानमन्त्री

काठमाडौँ । माओवादी केन्द्र संसदीय दलको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री तथा दलका नेता प्रचण्डले आफ्नो गोवा भ्रमण र समसामयिक राजनीतिक विषयमा बैठकलाई जानकारी गराएका थिए ।

बैठकमा प्रधानमन्त्रीले गोवाको ब्रिक्स–बिमस्टेक आउटरिच सम्मेलन सफल, उपलब्धिपूर्ण र नेपालका लागि सुखद् भएको बताए । प्रधानमन्त्रीले सम्मेलनका क्रममा भारत, चीन, भुटान, दक्षिण अफ्रिका, श्रीलंका लगायतका देशका राष्ट्र र सरकार प्रमूखहरुसँग भएका द्वीपक्षीय भेटबार्ता र बहुपक्षीय भेटका बारेमा समेत जानकारी गराएका थिए ।

बैठकमा प्रधानमन्त्री दाहालले छठ पर्व लगत्तै संविधान संशोधन गर्ने तयारी भइरहेको बताए । उनले संविधान संशोधनबारे प्रमुख विपक्षी नेकपा एमालेसहित सबै दलसँग सकारात्मक छलफल भइरहेको पनि बताए । दाहालले संविधान संशोधन गरेर आगामी चैतमा स्थानीय निकायको चुनाव गराउने बताएका हुन् ।

उनले सीमाकंन, नागरिकता, भाषा तथा राष्ट्रिय सभामा प्रतिनिधित्वलगायतका विषमया संशोधन गर्ने तयारी भएको जानकारी दिएको सहभागी नेताले बताएका छन् । यसैबिच प्रधानमन्त्री प्रचण्डले आज संसद बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ  ।