लायन्स क्लब अफ काठमाडौले चेपाङ्गलाई बाढ्याे न्यानाे लत्ताकपडा

काठमाडाै । मकवानपुरको विकट गाँउ खैराङ्ग यस्तो ठाउँ हो जहाँ पुग्नको लागि कुनै बाटो छैन र बर्षको ६ महिना खोलै खोलाको बाटो प्रयोग गरेर करिब ३–४ घण्टाको यात्रामा पुग्न सकिन्छ  । उता बर्षा यामको  ६ महिना यहाँसम्म पुग्नको लागि कुनैपनि विकल्प छैन । यो ठाउँको बारेमा हामीमध्ये कमैलाई मात्र थाहा छ तर यहाँ नेपालमै दुर्लभ मानिएको चेपाङ्ग समुदायको बसोबास रहेको छ ।

प्रकृतिसंग एकदमै नजीकमा रहने यो जाति बाहिरी संसारबाट धेरै कुरामा टाढा छ तथा आर्थिक रुपमा पनि एकदमै कमजोर छ । जाडो छेक्नको लागि घरमा एउटा पनि सिरक नभएर आगोको सहारामा रात काट्न बाध्य भएको समाचार विभिन्न समाचार माध्यमहरुमा बारम्बार प्रकाशित भएपछि राजधानीका युवाहरुको एक समुहले चेपाङ्गहरुलाई जाडोको लुगा र सिरक हस्तान्तरण गर्न पुगेको छ । खोलै खोलाको माथि ठुला ठुला चट्टानहरुलाई छल्दै, पानीकाे उल्टो बहावसंगै ३–४ घण्टाको बसको यात्रा गरेर यो समुहले खोलाको मुहानको बस्ति खैराङ्ग पुगेर ८३ घरलाई पुग्ने सिरक तथा २०० भन्दा बढि घरहरुलाई लत्ता कपडाहरु वितरण गर्यो ।

त्यहाँ पुगेर चेपाङ्गहरुको दुब्लो पातलो हाड छालाको शरीर देखेर सो समुहका केहि व्यक्तिहरु भावुक हुँदै भक्कानो छोडेर रुन पुगेका थिए । सबै व्यक्तिहरु लायन्स क्लब अफ काठमाण्डौ, लोटस आर. सि.मा आवद्ध छन् । पुष २३ मा सम्पन्न सो कार्यक्रम आफुहरुले सोचेभन्दा पनि भव्य र सन्तुष्टिपूर्ण भएको महसुस गरेको कार्यक्रममा सहभागि मनोज न्यौपानेले भन्नुभयो । उहाँले यस्ता कार्यक्रमहरु भविष्यमा पनि आयोजना गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।