स्थानीय निकायको निर्वाचन हुन्छ – मन्त्री पाण्डे

ललितपुर, २८ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ । स्थानीय विकास मन्त्रालयद्वारा गोदावरीमा आयोजित सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै सङ्क्रमणकालीन अवस्थालाई तोडेर हुने निर्वाचन सफल बनाउन तयारी अवस्थामा रहन स्थानीय विकास अधिकारीहरुलाई आग्रह गर्नुभएको हो ।

मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले आयोजनामार्फत स्थानीय समुदायमा बालबालिका तथा मातृ कुपोषणलाई न्यूनीकरण गर्न आवश्यक वस्तु तथा सेवाका लागि वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध भइरहेको जानकारी दिनुभयाे । प्रजनन उमेर पुगेका महिला तथा दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार गर्न सामाजिक धारणा, व्यवहार र परम्परामा सुधार ल्याउनु आयोजनाको मुख्य लक्ष्य रहेको छ । समुदायमा बाल कुपोषणको जोखिम कम गर्ने तथा पहिलो गर्भवती कम्तीमा २० वर्ष उमेरमा हुने देखिएकाले बच्चा जन्मान्तरको समयावधि बढाउन जनचेतना अभिवृद्धिलगातका कार्य गर्ने आयोजनाको उद्देश्य रहेको जानकारी दिर्इएकाे छ । साे आयोजना हाल ओखलढुङ्गा, खोटाङ, उदयपुर, सप्तरी, सुनसरी, सिरहा, सिन्धुली, रोमछाप, धनुषा, महोत्तरी, मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।