एक जुझारु युवा नेतृ अधिकारी

युवा नेतृ विनीता अधिकारी

नेपाली राजनीतिक फाँटमा उदीयमान जुझारु युवा नेतृको नाममा सुपरिचित विनिता अधिकारीको राजनीतिक धरातल नेविसंघबाट निर्माण भएको हो । लम्जुङको दुराडाँडामा माता भगवतीदेवी अधिकारी र पिता नरनाथ अधिकारीकी कान्छी छोरीको रुपमा जन्म लिएकी उनले ३२ वसन्त पार गरी सकेकी छन् । अहिले नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधीको रुपमा दोलखाबाट जिम्मेवारी वहन गर्दै आएकी उनले छोटो समयमा नै राजनीति क्षेत्रका थुप्र्रै जटील लाग्ने खुट्किलाहरु पार गरिसकेकी छन् । लमजुङमै प्रारम्भिक शिक्षा ग्रहण गरेकी अधिकारीले पद्मकन्या क्याम्पसमा राजनीति गर्ने मनमा दृढ ईच्छा राखेर प्रवेश गरेको बताउँछिन् । राजनीति गर्ने ईच्छा उनको मानसपटलमा कति दृढ थियो भन्ने जानकारी गराउन उनले आफू पाँच कक्षा पढ्ने बेलाको एक अविस्मरणीय घटनालाई सम्झिन्छिन् ।

उनी काठमाडौको एक विद्यालयमा पाँच कक्षामा अध्ययनरत छँदा जिल्लास्तरीय वक्तृत्वकला प्रतिस्पर्धामा भाग लिएकी थिइन् । २०४८ सालमा भएको वक्तृत्व कलाको शीर्षक ‘प्रजातन्त्रमा मेरो दायित्व’ विषयक थियो । प्रतिस्पर्धामा तृतीय स्थान हासिल गरेकी उनलाई कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले खुशी हुँदै प्रतिस्पर्धामा तृतीय स्थान पाएकी उनलाई काखमा लिएर तिमी ठुली भएपछि के बन्छौ ? भनी प्रश्न सोधेका थिए । त्यसबेला रामचन्द्र पौडेल मन्त्री थिए । उनले मन्त्री पौडेललाई म तपाई जस्तै नेता बन्छु भन्ने जवाफ दिएको बताउँछिन् । त्यतिबेलादेखिनै उनीमा नेता बन्ने लक्षण देखिएको थियो । परिवर्तनकारी अगुवा तथा समाजसेवी आफ्ना हजुर बा कविनाथ अधिकारीको प्रेरणाले समेत उनलाई सानै उमेरदेखि राजनीतिमा फाल हाल्न हौस्याइरहेको थियो ।

तत्कालीन निरंकुश र सामन्ती समाजमा पनि पण्डित्याई गर्ने हजुरबाले लमजुङको दुरा डाँडाबाट हलो क्रान्ति मार्फत् परिवर्तनको विगुल फुकेका थिए । पण्डीत मान्छेले हलो जोतेपछि उनकी बहिनी अर्थात् नेतृ अधिकारीकी माइली फुपु गोमाको विवाहमा जन्ती पक्षकाले भतेर खाएका थिएनन् । सामन्ती र रुढीवादी प्रथाबाट गाजिएको समाजमा जन्ती पक्षले हलो जोत्ने पण्डीतको घरमा बनाइएको भतेर नखाएर भाँडा नै फ्याकिदिएको घटना अहिले किम्वदन्ती जस्तो बनेको छ । पद्मकन्या क्याम्पसमा २०५५ सालमा स्व.वि.यू सदस्य भईसकेकी उनी २०५७ सालमा स्व.वि.यू सचिव पद हासिल गरेकी थिइन् भने २०५८ सालमा नेविसंघ केन्द्रीय सदस्य भईसकेको उनको ईतिहास छ । सानै उमेरमा केन्द्रिय सदस्यमा चयन हुँदाका केही रोमाञ्चक लाग्ने तितामिठा अनुभवहरु उनले समेटेर राखेकी छन् । उमेर सानो र शारीरिक हिसावले पनि सानै देखिदा कतिपय सार्वजनिक कार्यक्रममा अतिथिको आतिथ्यता गराउन नखोजे जस्तो गर्ने र अग्रज नेतृत्वले जिम्मेवारी दिन हिच्किचाउने गर्थे । पद्मकन्या क्याम्पसमा राजनीति गर्ने मनोभावनाले प्रवेश गरेको हुनाले होला उनले त्यहाँको स्ववियु सदस्य भएदेखिनै आफूलाई विद्यार्थीको हकहितमा दिनरात नभनी लागिन्् । विद्यार्थी साथीहरुको शैक्षिक समस्यालाई आफ्नै ठानेर हल गर्न लागिपर्ने र सवैसँग मिलनसार व्यवहार गर्ने नेतृ अधिकारी छोटो समयमै पद्मकन्या क्याम्पसका विद्यार्थीमाझ लोकप्रिय बन्न सफल भएकी थिइन् ।

प्रखरवक्ता समेत रहेकी उनको लोकप्रियता यतिसम्म चुलिएको थियो कि २०६० सालमा सोही क्याम्पसको सभापतिको पद हासिल गरिन् । आफूलाई सभापति बन्न चार जीको सहयोग, चाहना र हौसला रहेको कुरा उनले ईमान्दारिताकासाथ खुलेर बताउँछिन् । उनलाई चाहने चार जीहरुमा नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई, सभाषद् गगन थापा र नेविसंघका पुर्व अध्यक्ष गुरुराज घिमिरे हुन् । सभापति भईसकेपछि केवल विद्यार्थीहरुको सामान्य समस्याको हलमा मात्र आफूलाई सीमित नराखेर उनले महिला विश्वविद्यालय स्थापना गरिनुपर्ने अवधारणालाई बाहिर ल्याएकी छन् । महिलाको आन्तरिक सवैखाले विकास गर्न महिला विश्वविद्यालयले योगदान गर्न सक्छ भन्ने मान्यता छ उनको । उनकै पहलमा विश्वविद्यालय स्थापनाका लागि केही रकम संकलन गरिएको छ भने सरकारले काठमाडौको मुलपानी भन्ने स्थानमा जग्गा समेत छुट्टाइसकेको छ । विद्यार्थीको परीक्षा फर्ममा पिताको नाम मात्र रहदै आएकोमा उनको सक्रियतामा आमाको नाम राखेर पनि हुने व्यवस्था गरिएको थियो । क्याम्पसमा दुई सय शैयाको होस्टेल निर्माणदेखि गरीव र जेहेन्दार विद्यार्थीको हितमा छात्रवृत्ति र आरक्षणको व्यवस्था गर्नमा समेत नेतृ अधिकारीको अतुलनीय भूमिका रहेको थियो ।

चाकडी रहितको राजनीतिमा विश्वास गर्ने उनले नेपाली काँग्रेसभित्र हाम्रा हैन राम्रा कार्यकर्ताको स्थान हुनुपर्नेमा जोड दिन्छिन् । सच्चा र इमान्दार कार्यकर्ताहरुलाई कामको मूल्यांकनको आधारमा महत्व दिइनुपर्नेमा उनको मत छ । भजनमण्डलीबाट पदीय दायित्व प्राप्त गरेको अवस्थाकै कारण काँग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर भएको उनी टिप्पणी गर्छिन् । नेपालको समग्र विकासका लागि औद्योगिक क्रान्ति भन्दा पनि कृषि क्रान्ति हुनुपर्ने विचार राख्ने अधिकारीले भौतिक विकास मात्र नभई मानिसहरुको सोचाईमा सबैभन्दा पहिला विकास हुनुपर्छ भन्छिन् । मुलुकको विकासका लागि शैक्षिक गुणस्तरमा विकास गरिनुपर्ने, युवाहरुको विदेश पलायनलाई रोक्नुपर्ने, कृषि क्षेत्रमा लागेका युवाहरुलाई प्रोत्साहनको व्यवस्था राज्यबाट हुनुपर्ने धारणा उनको छ । मुलुकको ढुकुटी खर्च गरेर विदेश छात्रवृत्तिमा पढ्न गएको जनशक्तिलाई फर्काएर देश विकासमै लगाइनुपर्छ र युवाहरुले नेपालमै अवसरको खोजी गर्ने प्रवृत्तिको विकास गर्नुपर्छ ।

नेपाली महिलाहरुको बारेमा उनले शसक्त आवाज उठाउँदै आएकी छन् । महिलाहरुलाई अधिकार दिलाउन महिला समावेशीकरणमा विनीता जोड दिन्छिन् । उनी दाइजो प्रथालाई कुसंस्कारको रुपमा हेर्छिन् । एनजिओ र आइएनजिओहरुले महिलाको नाममा गरेको गतिविधी केवल देखावटी भएको ठहर उनको छ । राजनीतिक दलहरुले ३३ प्रतिशत महिला सहभागिताको नारा मात्र दिने तर व्यवहारमा लागू नगर्ने गरेको भनी उनी आलोचना गर्छिन् । राजनीतिक नियुक्तिमा नातावाद र कृपावाद हावी भएको र महिला समावेशीको नाममा सभासद् नियुक्ति गर्दा नेतृत्वको श्रीमती, छोरी, दिदीबहिनी लगायतलाई गरेर समावेशी शव्दकै खिल्ली उडाउने कार्य भएको उनको बुझाई छ । राजनीतिक नेतृत्व महिलाको बारेमा खुलेर कुरा नगर्ने र संवेदनशील बन्न सकेका नसकेकाले महिलाका प्रति न्यायोचित व्यवहार हुन सकेको उनी भन्छिन् । नेविसंघ जुझारु विद्यार्थी संगठन भएको र यसले नेपाली कांग्रेसको मर्करीको कार्य गर्दै आएको छ । नेविसंघलाई वेवास्ता गर्दा मुलुक र नेपाली कांग्रेस संकटमा परेको जिकिर उनको छ । नेविसंघको जागरण विना मुलुकको जागरण हुन नसक्ने विश्वास राख्ने उनी नेविसंघ पार्टीको दास होईन, अनुयायी हो, भन्छिन् ।

संकुचित विचारधाराबाट नेपाली कांग्रेसको नेतृत्व माथि उठेर भावनात्मक एकता आजको आवश्यकता हो भन्ने कुरालाई बुझ्नुपर्छ, उनी भन्छिन् । कुशल राजनीतिज्ञ बन्ने लक्ष्य बोकेकी उनले ०६२ र ०६३ को जनआन्दोलनमा साहसका साथ सक्रिय सहभागीता जनाएकी थिइन् । बाल्यकालको अवस्थामा २०४६ सालको जनआन्दोलनलाई घरको आँखीझ्यालबाट चियाएर हेरेकी एक वालिका ०६२ र ०६३ सालमा आइपुग्दा उनकै कुशल अगुवाईमा बागबजारलाई गणतन्त्र बजारको घोषणा गरिएको थियो । तत्कालीन शाही सरकार पद्मकन्याका छात्राहरुसँग डराएको थियो । पद्मकन्या क्याम्पसको हाता वरिपरि हजारौको संख्यामा प्रहरीहरु तैनाथ गरिएका हुन्थे ।

केन्द्रिय नेतृत्वको निर्देशनमा छात्रा विद्यार्थीहरु ज्यानको बाजी लगाएर आन्दोलनमा होमिएका हुन्थे । उनी आन्दोलनमा घाइते हुँदा टाउकोमा १८ वटा टाँका लगाउनु परेको थियो । आन्दोलनमा लाग्दा पटक पटक गरी तीन महिना जेलको चिसो भूईमा रात विताएकी थिइन् । लोकतान्त्रिक संविधान बनाउन भनी आफू आन्दोलनमा होमिएको सम्झदै वर्तमानको राजनीतिक संकटले मनमा असन्तुष्टि भएपनि स्वच्छ छवि भएका नेता शुशिल कोइरालाको नेतृत्वमा बनेको सरकारले संविधान निर्माण गर्नेमा उनी अझै विश्वस्त छिन् । गोविन्द अधिकारी