ग्राहकलाई सेवा दिएवापत् चार्ज लिएका हुन्छौं

रजनी चाैधरी

कुसुम लामा डाइरेक्टर प्रभु बै‌क

कुसुम लामा डाइरेक्टर प्रभु बै‌क

 डाइरेक्टर, प्रभू बैंक लिमिटेड एवं उपाध्यक्ष, प्रभू मनि ट्रान्सफर

संख्यात्मक हिसावले अहिले रेमिट्यान्स कम्पनीको संख्या बढी नै छ । तरपनि राष्ट्र बैंकले फरक देशबाट सेवा दिने रेमिट्यान्स कम्पनीलाई मात्र लाईसेन्स दिन थालेको छ । जुन प्रशंसनीय कार्य हो । यदि यो सेवा प्रभावकारी भयो भने गुणात्मक रुपमा पनि प्रभावकारी हुन्छ भन्ने लाग्छ । बजारमा हुने प्रतिस्पर्धाले पनि ग्राहकलाई फाइदै पुग्छ । ग्राहकले जुन कम्पनीबाट पैसा पठाउँदा भरपर्दो तथा विश्वसनीय अनुभूत गर्छन् त्यसैबाट पठाउँछन् । हामीले यसलाई ज्यादै सकारात्मकरुपमा हेर्नुुपर्छ ।

हुण्डीबाट पैसा आउने पद्धतिलाई रोक्न नेपाल सरकारले तयारी गर्नुपर्छ । योजना बनाएरै अघि बढ्नुपर्छ जस्तो मलाई लाग्छ । मेनपावरबाट श्रमिक विदेश जान्छन् र काम गर्छन् । ती मेनपावर विदेशमा एजेण्ट हुन्छन् एजेण्टलाई पैसा दिनैपर्ने हुन्छ । यस्तो प्रक्रियालाई अलिकती खुकुलो बनाइदिने हो भने हुण्डीको चलनमा कमी आउने थियो र बैंकिङ प्रिविध मार्फत पैसा जाने तथा आउने स्थिति सिर्जना हुने थियो । अर्को कुरा हुण्डीबाट रकम पठाउँदा वा ल्याउँदा सरकारलाई पनि घाटा छ । यसलाई रोक्नका लागि सरकारले विस्तारै योजना बनाएर अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ  ।

हुण्डीको बारेमा भन्नुपर्दा विश्वसनियता कम हुन्छ । किनभने पैसा पठाउँदा रिसिप्ट दिँदैनन् । हुण्डीले त्यो पैसा कहाँ दिने भन्ने बारेमा पनि विस्तृत व्याख्या पनि गरेको हुँदैन । यसको मतलव हुण्डिमार्फत पैसा पठाएको ठोस प्रमाण प्रेषकसँग नहुन पनि सक्छ । यसबाट हुण्डीमा विश्वसनीयता हुँदैन भन्न खोजिएको हो ।
हामीले ग्राहकलाई सेवा दिएवापत सर्भिस चार्ज लिएका हुन्छौं । यससँगै सर्भिस चार्जको कर हामीले तिरीरहेका हुन्छौं । वैदेशिक एक्सचेन्ज रेट पनि तोकिएकै हुन्छ । वैधानिक च्यानलबाट रेमिट्यान्स नआइसकेपछि त्यो पैसा देशको खातामा आउँदैन । र यसबाट बैंकहरुलाई भन्दा पनि सरकारलाई नै घाटा हुने भयो ।

नेपालमा हामी ७५ वटै जिल्लामा छौं । नेटवर्कको कुरा गर्नुपर्दा प्राइभेट कम्पनी, बैंक, वित्तीय संस्थाहरु, कोअपरेटिभलगायत ५ हजार भन्दा बढी एजेन्टको नेटवर्क हामीसँग छ । नेपालमा कुनै पनि मनी ट्रान्सफरको नेटवर्क हाम्रो जति छैन । हाल बैंक मार्फत प्रभु बैंकको १ सय १२ शाखाहरुबाट रेमिट्यान्सको कारोवार भईरहेको छ । नेपालमा भएका प्राइभेट वाणिज्य बैंकहरुको तुलनामा यो सबभन्दा बढी हो ।

जहाँ नेपाली बढी छन् त्यहाँ हाम्रो नेटवर्क बनेकै छ । मनी ट्रान्सफर मार्फत या संस्था रजिष्ट्रेसन गरेर भएपनि हामी त्यहाँ पुग्ने जमर्को गरिरहेका छौं । प्रभु मनि ट्रान्सफर त्यस्तो संस्था हो जसले अमेरिकाको ११ वटा राज्यबाट आफ्नाे व्यबसाय गरिरहेको छ । अन्य सबैजसो मुलुकमा हाम्रो सेवा विस्तार भईसकेको छ ।

विदेशबाट हेर्ने हो भने नेपालमा टन्नै पैसा आएकोजस्तो देखिन्छ । तर नेपालमा कहाँ कहाँ ती पैसा गएका छन् भनेर हेर्नुपर्ने हुन्छ । श्रम बेच्नकै लागि धनी परिवारबाट विदेश जाने भन्ने हुँदैन । जसलाई आफ्नाे घर परिवार चलाउन गाह्रो भएको छ,  ती व्यक्ति नै विदेश जाने हुन् । अर्कोकुरा विदेश जानलाई ऋण लिनुपर्ने हुन्छ । मेनपावरले पैसा नलिएर बाहिर पठाउँदैनन् । उनीहरुले दुःख गरेर कमाएको पैसा आफू जाँदा लागेको ऋण, घरपरिवारको आवश्यकता, बच्चाहरुको शिक्षामा खर्च भएको हुन्छ । यी सबै अनिवार्य आवश्यकताभित्रै पर्छन् । फजुल खर्च भन्ने कुरो पनि आएन । तर जेसुकै भएपनि वैदेशिक रोजगारीका लागि सुरक्षित र भरपर्दो भनेको वैदेशिक रोजगारीमा रेमिट्यान्स नै हो ।

विश्वसनीय र भरपर्दो बनाउने हो भने सबैभन्दा पहिले हुण्डी कम गर्नैपर्छ । रेमिट्यान्सलाई उत्पादन कार्यमा लैजानको लागि र औपचारिक च्यानलमा ल्याउनको लागि बाहिर जाने पैसालाई व्यवस्थित गर्नुपर्छ । यस कार्यमा बैंकिङ क्षेत्रको भन्दा सरकारको सक्रियता महत्वपूर्ण हुन जान्छ । कुराकानी