सन्यास फिर्ता लिएपछिको पहिलो खेलमै मेस्सीले गरे गोल

काठमाडौँ । हालै अमेरिकामा भएको कोपा अमेरिकाका फाइनलमा चिलीसँग पराजित भएपछि मेसीले अर्जेन्टिनाबाट सन्यासको घोषणा गरेका थिए। तर अर्जेन्टिनाका राष्ट्रपति, नयाँ प्रशिक्षक   एड्युवार्गो बाउजा, खेलाडी र बिश्वभरका खेलप्रेमीले उनलाई सन्यास फिर्ता लिन आग्रह गरे ।

सबैको आग्रहलाई स्वीकार्दै  मेस्सी  आफूलाई देशको धेरै माया लाग्ने बताउँदै सन्यासको घोषणा फिर्ता लिए  । सन्यास फिर्ताको घोषणाकोपछि उनी पहिलो पटक अर्जेन्टिनाको जर्सीमा बिहिबार मैदान उत्रिए ।  बिश्वकप छनौटको महत्वपुर्ण खेलमा उनले टोलीलाई जित पनि दिलाए  । उनकै निर्णायक गोलमा अर्जेन्टिनाले बलियो प्रतिद्वन्द्वी उरूग्वेलाई १-० गोल अन्तरले हरायो  । मेस्सिले ४३ औं मिनेटमा  डी बक्सभन्दा बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

 मेसीले गोल गरेको तीन मिनेट नबित्दै पाउलो ड्योब्ला रातो कार्ड खाँदै बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। तर उसले उरुग्वेलाई गोल गर्नबाट रोक्यो  ।अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडीसमेत रहेका मेसीले यो सँगै अन्तर्राष्ट्रिय गोल संख्या ५६ पुर्‍याएका छन्।

जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी समूहबाट विश्वकप छनोट खेलको अंक तालिकामा १४ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । समान सात खेल खेलेको  उरूग्वे १३ अंकसहित दोस्रो स्थानमा  छ। तेस्रो र चौथोका कोलम्बिया र इक्वाडोरको पनि समान १३/१३ अंक छ भने पाँचौ स्थानको ब्राजिलको १२ अंक छ ।