१५ वर्ष मुनीका नेपाली बेसवल टोली जापानका विभिन्न शहरको अध्ययन भ्रमण पछि नेपाल फिर्ता।

जापान–नेपाल बेसवल आदान–प्रदान कार्यक्रम अन्र्तगत यही अगष्ट २० तारिख प्रस्थान गरेको १५ वर्ष मुनीका नेपाली बेसवल टोली जापानका विभिन्न शहरको अध्ययन भ्रमण पछि नेपाल फिरेको छ ।

नेपाल बेसवल फेडेरेशनका अध्यक्ष प्रदीप श्रेष्ठको नेतृत्वमा १६ सदस्यीय बेसवल टोलीले जापानको ओसाका, कोमागाने (पोखराको भगिनी शहर), माचुमोतो (काठमाडौंको भगिनी शहर) सेन्दाई, टोक्यो, नारा, क्यातो जस्ता शहरहरुको अध्ययन भ्रमण गरेको थियो । टोलीमा नारायण प्रसाद भण्डारी, ईश्वर थापा, अनिल परियार, भीम बहादुर तामाङ्ग, नवराज भुजेल, अभिषेक कार्कीका साथै १५ वर्ष मुनीका खेलाडिहरु अमृत नेपाली, आशिष पुन मगर, अशोक परियार, विकास राई, देव भुजेल, प्रतिक सरकार, सगुन खिचाजु, सफिल श्रेष्ठ र सुशील परियार रहेको थियो । टोलीमा कास्की, काठमाडौं, ललितपुर,भक्तपुर जिल्लाका ७ वटा विद्यालयका विद्यार्थीहरु सहभागी थिए ।

मैत्री खेल अन्र्तगत पहिलो खेल कोमागाने जापान र नेपाल बीच भएको थियो । उक्त खेलमा नेपालले ४–२ रन अन्तर्गत विजय हासिल गरेको थियो । नेपालको तर्फबाट चार रन जोड्नेमा विकास राई, अमृत नेपाली, सुशिल परियार थिए । जापान स्थित नेपाली राजदूत महामहिम मदन कुमार भट्टराईले खेलको शुभारम्भ गर्नु भएको थियो ।

त्यस्तै दोस्रो मैत्री खेल नेपाल र जापानी जुनियर हाईस्कूल वीचको हिगासी ओसाकामा सम्पन्न भएको थियो । उक्त खेलमा नेपाल ११–१ रनबाट पराजित भएको थियो । उक्त खेलमा नेपालको तर्फबाट सगुन खिचाजुले मात्र १ रन लिन सकेका थिए ।

नेपाली टोलीले इगल्स र लायन्स तथा जायन्ट्स र टाइगर (टोक्यो डोममा) वीचको प्रतियोगिताको अवलोकन गरेको थियो । यसै वीच टोलीले नोतोरी क्षेत्रमा आएको सुनामीले गरेको विध्वंशलाई अवलोकन गरेको थियो । टोलीले बेसवल खेल मैैदानको अवलोकन, त्यहाँका प्रसिद्ध खेलाडीहरुसँग छलफल, जापानी कोचहरुबाट खेल सम्बन्धी आधारभूत ज्ञान समेत हासिल गरेको थियो ।

यस प्रकारको आदान–प्रदान कार्यक्रमले नेपाली खेलाडीहरुको खेल प्रतिको मोहलाई अझ बढी बनाउनुका साथै खेलको स्तरमा समेत वृद्धि हुने विश्वास लिइएको छ ।